आज सडकमा बिजोर नम्बरका गाडी चलिरहेका छन् । आज बिजोर गते भएकाले गाडीको अन्तिम नम्बर बिजोर भएका गाडीहरु सडकमा चलेका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज काठमाडौं उपत्यकाभित्र बिजोर नम्बरका निजी गाडी तथा मोटरसाइकल गुडेका र जोर नम्बरका चलाउन नपाइने जनाएको छ ।
आज जोर नम्बर प्लेट भएका गाडी चलाए कारबाही हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताएका छन् । जोर नम्बरका गाडी चलाएको भेटिए दिनभरी होल्ड गरिने उनको भनाइ छ ।
हिजो नियम उलंघन गरी चलाउने १ हजार ७ सय ७१ गाडीलाई होल्ड गरी छाडिएको छ । आज बिहान ३१ वटा गाडी होल्ड भएका छन् । २९ वटा दुई पाङग्रे र २ वटा चारपाङग्रे गाडीलाई होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सरकारले लकडाउन केही खुकुलो पार्दै जोरबिजोर प्रणालीमा निजी तथा दुई पाङ्ग्रे गाडी चलाउन दिने निर्णय गरेको हो ।