logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन अवधिमा २,७३८ यात्रु र २९ शव नेपाल भित्रिए, शुक्रबार क-कसको शव आयो?


अंकुरण खबर
1.183K
Shares

लकडाउनको करिब तीन महिनाको अवधिमा हवाई मार्ग भएर २७ सयभन्दा बढी यात्रु नेपाल भित्रिएका छन्।

शुक्रबार दिउँसोसम्ममा दुई हजार ३३८ जना यात्रु तथा २९ वटा शव नेपाल भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल कार्यालयले जनाएको छ।

यस अवधिमा नेपाल भित्रिने यात्रुहरुमा केही विदेशी नागरिकबाहेक अधिकांश वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा गएका नेपालीहरु हुन्। जसमा १२ जना बालबालिकासमेत छन्।

विमानस्थल कार्यालयका अनुसार शुक्रबारमात्र चार देशबाट ४९४ नेपाली आइपुगेका छन्। त्योसँगै २४ वटा शव पनि भित्रिएका छन्।

शुक्रबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट १४८ जना यात्रु लिएर नेपाल वायु सेवा निगमको विमान काठमाडौं आइपुगेको छ। यस्तै कुवेतबाट १५०, साउदीबाट १५३ र कतारबाट ४३ नेपाली नेपाल भित्रिएका छन्।

विदेशमा अलपत्र नेपालीहरुलाई त्यहाँस्थित नेपाली दुतावासको समन्वयमा स्वदेश ल्याइएको हो।

क–कसको शव आयो ?

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा कामको सिलसिलामा ज्यान गुमाउने २४ जनाको शव शुक्रबार एकै दिन आइपुगेको हो ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार शुक्रबार आइपुगेका शवमध्ये २० वटा शव कतारबाट आएका हुन्। बाँकी कुवेतबाट दुई तथा युएई र दमामबाट एक–एक जनाको शव आएको हो।

वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीन बन्धु सुवेदीका अनुसार कतारबाट २० वटा शव लिएर कतार एअरवेजको चार्टर्ड जहाज आएको हो।

सुवेदीका अनुसार बर्दिया मोतिपुरका सिकराम थारु, सर्लाहीको ईश्वरपुरका अरुनकुमार पजियार, महोत्तरीका शिवशंकर रावत, धनुषाका छुत्रवा मण्डर खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यामबहादुर थापा, सिरहाका कसिन्द्र यादव, सर्लाहीका कसिन्द्र यादव र मनोज पासवान र महोत्तरीका अनिल चौधरीको शव आएको छ।

यस्तै सिरहाका मुस्तक सैश र रुपेशकुमार मण्डल, कपिलवस्तुका मोहम्मद अलाम मुसलमान, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापा मगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल, मोरङ्का युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा, उदयपुरका मिनबहादुर थापा, सुर्खेतका निरबहादुर कामी र भोजपुरका मंगलबहादुर तामाङको शव आएको छ।

कुवेतबाट नेपाली लिएर आएको जजिरा एअरले नुवाकोटकी सोनी तामाङ र संखुवासभाका मानबहादुर आलेको शव पनि ल्याएको छ। यस्तै यूएईबाट सिन्धुपाल्चोकका पेम्बा नुर्बू शेर्पाको शव नेपाल एअरलाइन्समार्फत आएको छ। साउदीको दमामबाट आएको हिमालय एअरलाइन्सको चार्टर्ड जहाजले पनि एउटा शव ल्याएको छ।

यसअघि कुवेतबाट तीन, ओमान र यूएईबाट एक-एक जनाको शव ल्याइएको थियो।