logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्यान्सर पीडित ७४ वर्षीय वृद्धले कोरोना जितेर घर फर्किए


अंकुरण खबर
715
Shares

चितवनमा फोक्सोको क्यान्सरका एक बिरामी ७४ वर्षीय वृद्ध कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।

उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका-६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले ७४ वर्षका फोक्सोको क्यान्सरबाट पीडित वृद्ध कोरोना संक्रमणबाट निको हुनु खुशीको खबर भएको बताए ।

उनले भने, ‘एकातिर वृद्ध उमेर, त्यसमाथि फोक्सोको क्यान्सर र केमोथेरापी अर्कोतिर कोरोना भाइरसको संक्रमण यो त अति जोमिखयुक्त अवस्था थियो । तर हामीले उहाँलाई संक्रमणमुक्त बनाएर जोगाउन सक्यौं ।’

फोक्सोको क्यान्सरको उपचारका लागि छोरासँग भारत गएका वृद्धमा गत जेठ ९ गते कोरोना संक्रमण देखिएको थियो । उनकी ७३ वर्षकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

उनले श्रीमतीसँगै झण्डै एक महिना भरतपुर अस्पतालमा बसेर उपचार गराएका थिए । श्रीमान् श्रीमती दुवै जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. पौडेलले बताए ।

शुक्रबार वृद्धलाई अस्पतालले फूल दिएर बिदाइ गरेको थियो । त्यस क्रममा वृद्धले कोरोनासँग संघर्ष गर्न आफ्नो मनोबल उच्च बनाउन आग्रह गरेका थिए ।