सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ ।
सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल हिड्न र सवारी सञ्चालनमा समेत राति रोक लगाएको हो ।
सुरक्षा मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयले रातिको समयमा एक जिल्लाबाट अर्को जिल्लामा अनुमतिबिना प्रवेश गर्नेको संख्या बढेसँगै सुरक्षा जाँचमा थप कडाई गर्न निर्देशन दिएको छ ।
कोरोना संक्रमण विरुद्ध स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘हेल्थ प्रोटोकल’को पूर्ण रुपमा पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गर्दै यसलाई व्यवस्थित गर्न सुरक्षा मापदण्ड जारी गर्न गृहलाई निर्देशन दिएको थियो ।