डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका वडा नं. ७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर ज्यान गएको छ ।
शनिबार साँझ खानेपानीका लागि धारामा पानी लिन गएको बेला करेन्ट लागेर उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख , प्रहरी उपरीक्षक दीपिलसिंह देउवाले जानकारी दिए ।
प्रहरीका अनुसार त्यही ठाउँका सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको करेन्ट प्रवाह गरेका कारण उनलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पानीको ट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई प्रहरीले पक्राउ गरेको छ ।
गाउँको सार्वजनिक धारामा भारतमा रोजगारी गरी नेपाल घर फर्किएका कोरोना सङ्क्रमित भएका व्यक्तिले पानी भर्न आउने गरेका कारण आफूले धारामा करेन्ट प्रवाह गरेको पक्राउ परेका किमाडीले बयान दिएको इलाका प्रहरी कार्यालय आदर्शले जनाएको छ ।