लोकसेवा आयोगसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ।
२०७६ भदौ २५ गते प्रतिनिधि सभामा पेश भएको विधेयक मंगलबार पारित भएको हो। नेपालको संविधान अनुसार लोकसेवाको काम, कर्तव्य र अधिकार बनाउनका लागि विधेयक ल्याइएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७६ पुस २४ गते सो विधेयक प्रतिनिधिसभामा दर्ता गराएका थियो।
विधेयक दर्ता भएको ८ महिनापछि छलफलका लागि संसदमा पेश भएको थियो। विधेयकमाथि लामो समयसम्म संसदको राज्य व्यवस्था समितिमा छलफल भएको थियो।
समितिमा आयोगको क्षेत्राधिकारलाई लिएर आयोगले पनि गुनासो गरेको थियो। संघ र प्रदेशमा पनि लोकसेवा आयोग हुने भएकाले यसको क्षेत्राधिकार बारेमा धेरै बहस भएको थियो। विधेयक राष्ट्रिय सभामा पेश हुनेछ।
राष्ट्रियसभाबाट समेत पारित भएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो लागू हुनेछ। ऐन बनी लागू भएपछि आयोगले विज्ञापनलगायत अन्य कार्य गर्न पाउनेछ।