प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन षडयन्त्र भइरहेको बताएका छन्।
मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आज बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हटाउन खोज्ने चारतिर भए पनि आफूले तत्काल कुर्सी नछोड्ने बताएका हुन्।
उनले भने, “संविधानमा नक्सा छापेकै भरमा प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्ने सपना नदेखे हुन्छ। यसमा कसैले हतार नगरे हुन्छ।”
“मलाई प्रधानमन्त्रीको कुर्सीमा बसिरहने मन छैन, तर आजको लागि होइन भोलिका लागि, आफ्ना लागि होइन देशका लागि बसेको छु,” प्रधानमन्त्रीले भने, “म हटे भने भोलि देशको पक्षमा कोही बोल्यो भने भोलिपल्टै हट्नुपर्नेछ।”
कुर्सीमा बसेरै मिचिएको भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए। उनले मदन भण्डारीको विचारले समाजलाई यहाँसम्म ल्याएको पनि बताए।