पोखरामा पनि सलह किरा देखिएको छ । ठूलो हुल बाँधेर नआए पनि हावाको गतिमा सलह पोखरा पुगेको हो ।
शनिबार साँझ नै पोखराका विभिन्न ठाउँमा सलह देखिएको हल्लासहित सामाजिक सञ्जालमा तस्बिर राखिए पनि आइतबार भने साँच्चिकै सलह पोखरा आएको प्रमाणित भएको हो ।
पोखरा–१७ महतगौंडा, पोखरा महानगरपालिका ३ नदिपुर लगाएतका ठाउँमा सलह किरा देखिएको पोखरा महानगरका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।
बाली सखाफ बनाउने सलह पोखरा पसेसँगै किसानहरुमा पनि सन्त्रास छाएको छ । गण्डकीको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी प्रवक्ता ज्योति क्षेत्रीले सलह गण्डकी पसेपछि के गर्ने भन्नेबारे छलफल चलिरहेको जानकारी दिइन् ।