logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ मा ८ महिने बालिकासहित १४ जना कोरोना जितेर भए डिस्चार्ज


अंकुरण खबर
702
Shares

कोरोना निको भई प्रदेश १ बाट सोमबार १४ जना डिस्चार्ज भएका छन् ।

कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचाररतमध्ये झापाका ६, मोरङका ४, सुनसरीका ३ र पाँचथरका १ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिकादेखि ५४ वर्षसम्मका रहेका छन् ।

कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गतेसम्म भर्ना भएकाहरू रहेको कोभिड १९ उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिएका छन् । कोरोना निको भई प्रदेश १ मा हालसम्म ३९२ जना डिस्चार्ज भइसकेका छन् ।

यसैबीच, सोमबार प्रदेश १ मा ७ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा १ महिला, उदयपुरको ताप्लीमा २ पुरुष, खोटाङ दिक्तेलमा २ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

हालसम्म प्रदेशसभर संक्रमितको संख्या ५६७ पुगेको छ ।