पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाही छन् ।
भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले बताए अनुसार उनलाई महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको छ । ‘पूर्वमन्त्रीज्यूको घरमा भएको विष्फोटबारे अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो’, गिरीले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’
प्रतिबन्धित विप्लव समूहले भने उपत्यका विशेष ब्युरो इञ्चार्ज मिलनको नामबाट विज्ञप्ति जारी गर्दै पार्टीले आक्रामक कारबाही बन्द गरेको अवस्थामा झुठा मुद्दा लगाइएको दाबी गरेको छ ।
यसअघि २८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले विष्फोट गराएको थियो । घटनामा संलग्नताको आरोपमा त्यतिवेलै एक जना पक्राउ परेको भए पनि संलग्नता पुष्टि नभएपछि छुटिसकेका छन् ।