नेपालमा कोरोनाभाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
यही असार १४ गते अछामको रामारोशन-५ मा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका उनको भोलिपल्टै मृत्यु भएको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनमा मधुमेहको समस्या पनि थियो ।
उनको मृत्यु भएको भोलिपल्ट स्वाब संकलन गरी परीक्षण गरिएकोमा कोरोना पोजेटिभ देखिएको थियो ।
अस्पतालमा उनको कुरुवा बसेका २ जनाको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको छ ।