काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत म्याग्दीका कोरोना भाइरस संक्रमित ४७ दिने शिशुको मृत्यु भएको छ।
ती शिशुको बुधबार बेलुका मृत्यु भएको शिक्षण अस्पतालको कोभिडका प्रवक्ता डा. सन्तकुमार दासले जानकारी दिए।
शिशुको गत सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो। त्रिवि शिक्षण अस्पतालमै जन्मिएको शिशुको जन्मेदेखि नै श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ।
घाँटीमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनमा शल्यक्रिया अघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो।
उनका बुवा, आमा र फुपूमा पनि कोरोना संक्रमण परीक्षण गर्न नमुना संकलन गरी पठाइएको छ।