logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज गुरु पूर्णिमा , गुरुजनप्रति सम्मान प्रकट गरि मनाइदै


अंकुरण खबर
2.119K
Shares

आज गुरु पूर्णिमा , गुरुजनप्रति सम्मान प्रकट गरिदैछ । असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाउने गरिन्छ । आजका दिन गुरु वेदव्यासको जन्म भएकाले वेदव्यास जयन्ती मनाउने गरिन्छ ।

पौराणिक साहित्यमा व्यास जयन्तीको व्याख्या भए जसरी तन्त्र विद्यामा ब्रह्मा, विष्णु, महेश्वरको स्वरूपलाई गुरु मानिएको छ ।

पशुपतिनाथका गुरु दक्षिणामूर्तिको मन्दिर वर्षको एक दिन यसै उत्सवमा नागरिकका लागि खुला रहन्छ ।

सामाजिक दूरी कायम गरेर दक्षिणामूर्तिमा दर्शन गर्न सकिने व्यवस्था गरिएको पशुपतिनाथका कोतवाल पूर्णनारायण जोशी बताए। राजगुठी अन्तर्गतका मुलुकका सबै नाथ अखडामा गुरु गोरखनाथको अर्चना गरिँदैैछ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिक रुपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ ।

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।