सरकारले काठमाडौंको ढलको पानीमा कोरोना भाइरस भेटिएको र अवस्था भयावह भइरहेको भन्ने हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले संसारका अरु देशमा पनि ढलको पानीमा कोरोना भाइरस भेटिएकोले आत्तिनु नपर्ने बताएका छन् ।
व्यक्तिमा कोरोना सङ्क्रमण रहेको अवस्थामा या निको भइसकेपछि पनि उसको दिसामा भाइरसका टुक्राटाक्री देखिने हुनाले ढलमा कोरोना देखिएको तर यसबाट डराइहाल्नुपर्ने अवस्था नरहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।
ढलको पानीमा कोरोना भाइरस दुई दिनसम्म बाँच्न सक्ने तर अध्ययनहरुबाट ढलको पानीबाट व्यक्तिमा कोरोना सरेको प्रमाण नभेटिएको गौतमको भनाइ छ ।
काठमाडौंको ढलमा कोरोना भाइरस देखिएकोले कोरोना समुदायस्तरमा पुगेर अवस्था भयावह भयो भन्न नमिल्ने उनको दाबी छ । तर ढलको पानीमा कोरोनासँगै अरु रोगका पनि किटाणु रहन सक्ने भएकाले ढलको काम गर्नेहरुले व्यक्तिगत सुरक्षा सतर्कता अपनाउनुपर्ने डा. गौतमको भनाइ छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा स्वास्थ्य मन्त्रालयले यसबारेमा अध्ययन गर्ने प्रवक्ता गौतमले बताए ।