सवारी पास बिना यात्रु ओसारपसार गरेको अभियोगमा दुई जना सवारी चालक पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले उनीहरुलाई नागढुङ्गा नाकाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे १ ज ११३५ नम्बरको सवारी साधनका चालक बर्दिया बढैया गाउँपालिका-५ घर भएका २९ वर्षीय संजय बिक र डोटीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ज ८६ नम्बरको ट्याक्सीका चालक काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका ३० वर्षीय संखमान तामाङ रहेका छन् ।
पक्राउ परेका चालकमध्ये बिकले पास बिना १७ जना यात्रुहरुसँग २५ हजार रुपैयाँ असुल गरी आएको र तामाङले ३ जना यात्रुहरुसँग ३० हजार रुपैयाँ पाउने सर्तमा अनाधिकृत रूपमा राखि आएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
पक्राउ परेका दुबै जनालाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।