logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डब्लूएचओमा जागिर लगाइदिने भन्दै लाखौं ठगी गर्ने पाण्डे पक्राउ


अंकुरण खबर
1.209K
Shares

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा जागिर लगाइदिने भन्दै लाखौं ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासी सुस्ता देवचुली नगरपालिका–१५, प्रगतिनगर घर भई हाल काठमाडौंको तीनकुने बस्दै आएका ३४ वर्षीय विजय पाण्डे रहेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले पाण्डेलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । पाण्डेले चितवनकी अस्मिता अधिकारीलाई आफू विश्व स्वास्थ्य संगठनको कर्मचारी भएको र संगठनमा कर्मचारीको माग भएको भन्दै एक लाख ८२ हजार रुपैयाँ ठगेको खुलेको छ ।

प्रहरीका अनुसार उनले विश्वासमा पार्न अफर लेटर, रिलाइबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कागजातहरूसमेत दिएका थिए । अनुसन्धानकै क्रममा पाण्डेले शंखमूलमा रहेको एक फर्निचर पसलबाट १८ लाखको फर्निचर लैजाने भन्दै उल्टै ५० हजार लिएर ठगेको खुलेको छ ।

चितवनका निशानबाबु घिमिरेलाई समेत विश्व स्वास्थ्य संगठनको कार्यालय ललितपुरमा जागिर लगाई दिने विश्वास दिलाएर तीन लाख ५० हजार रुपैयाँ ठगेको खुलेको प्रहरीले जनाएको छ ।

नवलपरासी बस्ने दीपक खनाल, धनबहादुर क्षेत्री, मनाङ घर भएका काशी गुरुङ, ठेगाना नखुलेका सरिता भण्डारी, रमा घिमिरे समेतका व्यक्तिहरूलाई समेत डब्लूएचओमा जागिर लगाइदिने भन्दै रकम ठगी गरेको पाइएको महाशाखाले जनाएको छ ।