कास्कीमा दुई ठाउँमा पहिरोले घर पुरिंदा ४ जनाको मृत्यु भएको छ । पोखरामा ३ र हेम्जामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका १८ गोठादीमा टंकबहादुर थापाको घर पहिरोले पुरिंदा ३ जनाको मृत्यु भएको हो । ६ जना घाइते भएका छन् । केही सम्पर्कबिहीन भएका प्रहरीले जनाएको छ ।
बिहान ३ बजेतिर पहिरो जाँदा ३ जनाको मृत्यु भएको कास्कीका डीएसपी सुबास हमालले जानकारी दिए । उनीहरुको परिचय भने खुलेको छैन । पुरिएको घरमा हिजो जन्मदिन उत्सव भएको र जन्मदिन मनाउनका लागि केही आफन्तहरु पनि आएका स्थानीयले बताएका छन् ।
घर पूर्ण रुपमा पहिरोले पुरिएको छ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । घाइतेलाई पोखराको मणिपाल अस्पताल र पश्चिमाञ्चल अस्पताल लगिएको छ ।
पानी लगातार परिरहेकाले थप अरु घर पनि जोखिममा छन् ।
यस्तै पोखराकै हेम्जामा रहेको रामचन्द्र अधिकारीको घर पनि पहिरोले पुरिंदा उनकी आमा हिमकलीको ज्यान गएको छ । गएराति ३ बजेतिर नै पहिरो गएको हो ।