कास्कीको पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न ठाउँमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीमा पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ । यस्तै, पोखरा महानगरपालिका–२५ हेम्जामा पहिरोले घर पुग्दा १ जना र पोखरा–२६ पैतेडाँडामा पहिरोले घर पुर्दा १ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टंकबहादुर थापाको घर पुरिंदा घरमा रहेका ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा घरधनी ५० वर्षीय टंक थापा, उनकी श्रीमती ४५ वर्षीय सोममाया, उनका दाजुका नाति ६ वर्षीय सुवास थापा र ११ वर्षीय इसिका थापा छन् । पहिरोमा पुरिएर मृत्यु भएका अर्का १ बालकको सनाखत भइसकेको छैन ।
थापाको घरमा बिहीबार परिवारका सदस्यको जन्मदिन मनाउने कार्यक्रम थियो । जन्मदिन मनाउन जम्मा भएका अन्य व्यक्ति पनि पहिरोमा परेका हुन् ।
पहिरोमा पुरिएर टंकबहादुरका छोरीहरु २२ वर्षीय पिंकी, १८ वर्षीय आशा तथा पिंकीकी ५ वर्षीया छोरी पिरिसा घाइते भएका छन् । यस्तै, टंकबहादुरकी साली तनहुँको दमौली घर भएकी सरस्वती श्रेष्ठ पनि पहिरोमा परेर घाइते भएकी छन् । सरस्वतीका १० र ८ वर्षका २ छोरा पनि पहिरोमा परेका छन् ।
पहिरोमा परी घाइते हुनेमा टंकबहादुरका छिमेकी १९ वर्षीय अनिश तामाङ, रसी थापा र रश्मि थापा पनि छन् । पहिरोमा परेर घाइते भएका सबैको गण्डकी र मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, पोखराको हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षी हिमकली अधिकारी र पैतेडाँडामा पहिरोले घर पुगर्दा दूर्गाबहादुर सुनारको मृत्यु भएको छ ।
पैतेडाँडाको दूर्गाबहादुरको घर पुरिँदा उनकी पत्नी, एक छोरा र एक छोरी घाइते भएका छन् । उनीहरुको उद्दार गरिएको प्रहरीले जानकारी दिएको छ ।