logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सार्वजनिक सवारीका साधन नचलाउने व्यवसायीहरुको घोषणा


अंकुरण खबर
1.443K
Shares

सरकारले अनुमति दिए पनि व्यवसायीहरुले भने अहिलेकै अवस्थामा सार्वजनिक सवारीका साधनहरु चलाउन नसकिने बताएका छन् ।

सरकारले शुक्रबारदेखि अर्को जिल्लाको सीमा नकट्ने गरी एउटा जिल्ला भित्र सार्वजनिक सवारीका साधन चलाउन दिने निर्णय गरेको थियो ।

तर, व्यवसायीहरुले भने पूर्व तयारीविना सवारीका साधन चलाउन नसकिने बताएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँच बुँदे माग अघि सारेको छ ।

अध्यक्ष होमप्रसाद अधिकारीले पूर्व तयारीविना नै सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको बताए । आफूहरुलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको उल्लेख गर्दै अधिकारीले गाडी नचलाउने, बरु सरकारलाई चाबी बुझाउने बताए ।

महासंघका महासचिव भरत नेपालले आफूहरुले अघि सारेको पाँचबुँदे माग पूरा भए मात्र गाडी चलाउन सकिने बताए ।

महासंघले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पुनर्तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजनलगायतका पाँचबुँदे माग अगाडि सारेको छ ।