logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

११ दिनमा क्वारेन्टिनमा बसेर घर फर्किएका वृद्धले गरे आत्महत्या


अंकुरण खबर
741
Shares

बाराको परवानीपुर गाउँपालिकामा एक वृद्धले क्वारेन्टिनबाट निस्केको एक सातापछि आत्महत्या गरेका छन् ।

परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने ७० वर्षीय महादेव ठाकुरले धोतीको पासो लगाएर आत्महत्या गरेका हुन् । राति खाना खाएर सुतेका महादेव ठाकुर बिहान अचानक मृत फेला परेको उनका छोरा जितेन्द्रले बताए ।

उनी क्वारेन्टिनमा बस्दा मानसिक रुपमा विक्षिप्त भएको र घर आएपछि आत्महत्या गरेको स्थानीयको अनुमान छ । स्थानीयका अनुसार उनले साथीभाइ र आफन्तलाई भेट्दा ‘मलाई कोरोना भइसकेको छ, प्रहरीको गाडी आएर लैजान्छ’ भन्ने गर्दथे ।

वडा अध्यक्षलाई समेत उनले आफूलाई कोरोना संक्रमण भइसकेको बताएका थिए । तर, आफूले पीसीआर रिपोर्ट नेगेटिभ आएकाले नआत्तिन भनेर सम्झाएको वडा अध्यक्ष बताउँछन् ।

उनले आफूलाई कोरोना संक्रमण भएको भनेर गाउँलेहरुलाई भने पनि त्यो कुरा परिवारका सदस्यहरुले पत्तो पाएनन् । उनका छोरा जितेन्द्रले भने, ‘क्वारेन्टिनको बसाइबारे पनि केही भन्नुहुन्नथ्यो । अचानक बिहान नराम्रो खबर सुन्नुपर्यो ।’

कोरोना महामारी शुरु हुनुअघि उनी भारतको बिहार राज्यअन्तर्गत पर्ने नरकटियागञ्जमा छोरीको घरमा गएका थिए । त्यहीँ रहेकै अवस्थामा लकडाउन शुरु भएपछि उनी त्यतै रोकिए । दुई महिना त्यता बसेपछि रक्सौलमा छोराको ससुरालीमा आएर १५ दिनजति बसेका थिए ।

वडा अध्यक्ष रामेश्वर प्रसाद साहलाई फोन गरेर घर आउने व्यवस्था मिलाइदिन आग्रह गरेपछि गाउँपालिकाले असार ८ गते एम्बुलेन्समार्फत् ल्याएर गाउँकै क्वारेन्टिनमा राखेको थियो । क्वारेन्टिनमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ११ औं दिनमा असार १९ गते उनलाई घर पठाइएको थियो ।

महादेवको शव कलैया अस्पतलामा पोष्टमार्टमका लागि लगिएको छ । त्यसपछि धार्मिक परम्परा अनुसार दाहसंस्कार गर्ने तयारी भइरहेको स्थानीयले बताएका छन् ।