राष्ट्रिय मानव अधिकार आयोगले बाढी पहिरोबाट पीडितको तत्काल उद्धार तथा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन तथा प्रभावकारी राहत वितरण गर्न सरकारसँग आग्रह गरेको छ ।
आयोगले विज्ञप्ति जारी गर्दै विकास निर्माणका कार्यलाई मानव अधिकारमैत्री बनाउन, प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन पनि आग्रह गरेको छ ।
आयोगले अविरल वर्षाका कारण बाढीपहिरो, चट्याङ तथा डुबानमा परी म्याग्दी, सिन्धुपाल्चोक, जाजरकोट, कास्की, संखुवासभा, लमजुङ, गुल्मी, रौतहट, नवलपरासी पश्चिम, चितवनलगायत जिल्लामा दर्जनौं नागरिकको मृत्यु हुन गएको, झन्डै तीन दर्जन बढी बेपत्ता भएको, सयौं परिवार विस्थापित तथा घाइते भएको अवस्थाप्रति चिन्ता प्रकट गरेको छ ।
यसैबीच आयोगका सदस्य सुदीप पाठकले आइतबार गृहसचिव महेश्वर न्यौपानेसँग प्राकृतिक विपद्को समयमा सरकारले गरिरहेको पहल, उद्धार राहत तथा रोकथामका सम्बन्धमा छलफल गरेका छन् ।
छलफलमा गृह सचिव न्यौपानेले विपद् व्यवस्थापन तथा महामारीमा सरकारले संवेदनशील भई कार्य गरिरहेको बताएका थिए ।