logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तनहुँमा पहिरो अपडेट : पुरिएर ६ को मृत्यु, ५ बेपत्ता


अंकुरण खबर
5.525K
Shares

अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको निधन भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन्। कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ।

सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिराले पुरिएर मृत्यु भएको छ। त्यस्तै पहिराले पुरिएर म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा बस्ने १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ।

ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा पहिराले पुरिएर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ भने बाँकी चार जना बेपत्ता छन्।

बेपत्ताको खोजी कार्य भइरहेको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए।

स्थानीय अनबहादुर थापाको घर पहिराले पुरिँदा जेठो छोरा ३० वर्षीय भेषबहादुर थापा, उनकी पत्नी २९ वर्षीया नानुमाया, छोरी ५ वर्षीया अमिषा थापा, अनबहादुरको कान्छो छोरा २२ वर्षीय महादेव थापा र निजकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता छन् सोही ठाउँकै ६० वर्षीय ज्योतिमाया थापाको भने उद्धारपछि उपचार भइरहेको छ। रासस