भगवान रामको जन्मस्थान अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीबाट भारतको सत्तासित भारतीय जनता पार्टी (भाजपा) आक्रोशित भएको छ ।
प्रधानमन्त्री ओलीले सोमबार वास्तविक अयोध्या भारतमा नभई नेपालमा रहेको र भगवान राम नेपाली रहेको दाबी गरेका थिए । प्रधानमन्त्री ओलीले विवादास्पद अभिव्यक्ति दिएको भनि भाजपाले आलोचना तथा निन्दा गरेको हो।
सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका छन् । उनले भगवान राम आस्थाको विषय भएको भन्दै मानिसहरूले त्योसँग खेल्न छुट नेपालका प्रधानमन्त्री वा अन्य कोहीलाई नभएको बताएका छन् ।
भारतीय सञ्चारमाध्यम पीटीआईले सो अभिव्यक्तिलाई राजनीतिक विवाद उक्साउने भन्दै भारतलाई चोट पुर्याउने आश्चर्यजनक कदम भनेको छ । भारतीय समाचार संस्था आइएएनएसले लेखेको समाचारमा ओलीको भनाइलाई ‘स्तब्ध पार्ने बयान’ भनेको छ ।
एनडिटीभी डट कमले ओलीको अभिव्यक्तिले रामका अनुयायीहरूलाई उत्तेजित पार्ने देखिएको उल्लेख गरेको छ ।
सोमवार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले नेपाल सांस्कृतिक रूपमा थिचिएको र तथ्यहरूमा अतिक्रमण भएको भन्ने टिप्पणी गरेका थिए ।