logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाढी प्रकोपबाट मृत्यु भएका परिवारलाई राहत


अंकुरण खबर
2.223K
Shares

झापा जिल्ला प्रशासन कार्यालयले बाढीको प्रकोपबाट मृत्यु भएका पाँच जनाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन राहत कोषबाट प्रति परिवार एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा सोमवार बसेको बैठकले तीन महिनायता नदीमा बगेर र खाल्डोमा डुबेर मृत्यु हुने पाँच जनाको परिवारलाई राहतस्वरुप सो रकम प्रदान गर्ने निर्णय गरेको हो ।

बाढीको प्रकोपबाट गत वैशाख २० गते अर्जुनधारा नगरपालिका–२ सातकटेरीका ६५ वर्षीय दुर्गाबहादुर खपाङ्गी, असार १० गते बाह्रदशी गाउँपालिका–६ रुपचनबाडीकी १८ वर्षीया अनुसा टुडु, शिवसतासी–८ का ३ वर्षीय सम्यम विष्ट, असार २० गते कमल गाउँपालिका– ५ का ३४ वर्षीय पुष्प राई र असार २७ गते झापा गाउँपालिका– ५ का राजेश गणेशको मृत्यु भएको थियो ।

उनीहरु सबैको परिवारलाई राहतका लागि प्रदेश नम्बर १ को सरकारलाई पनि सिफारिस गरिने सहायक प्रमुख जिल्ला अधिकारी जनक पाण्डेले बताए । उनका अनुसार प्रदेश सरकारको विपद् व्यवस्थापन कोषबाट समेत प्रति परिवार एक लाख रुपैयाँको दरले राहत दिइने व्यवस्था छ । रासस