logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य मन्त्रालयको आग्रह : सार्वजनिक यातायातमा सकेसम्म यात्रा नगरौं


अंकुरण खबर
858
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

सरकारको निर्णयसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरु चल्न थालेपछि मन्त्रालयले यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणको प्रतिकूल अवस्थामा पनि सार्वजनिक सवारी साधन संचालनमा आएकोले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

‘सर्वसाधारणहरुको जनजीवनमा सहजता होस् भनेर प्रतिकूल अवस्थाका बाबजुत सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ,’ डा गौतमले भने, ‘ जनस्वास्थ्यको मापदण्डलाई मध्येनजर गर्नुहोला । कोभिडको समस्या समाधान भयो र सार्वजनिक यातायात सुचारु भए भनेर नबुझिदिनुहुन अनुरोध छ ।’

डा गौतमले सार्वनजिक यातायातको यात्रा कोभिड-१९ को संक्रमण भन्दा अगाडिको समयको जस्तो सहज र सुरक्षित नभएको बताए । डा. गौतमले अत्यावश्यक भएमा मात्र सार्वजनिक सवारीसाधनको प्रयोग गर्न पनि आग्रह गरे ।

डा. गौतमले भने,‘यात्रा गर्नैपर्ने अवस्था भएमा मात्र यात्र गर्नुहोला । यात्राका क्रममा पनि हरेक यात्रु वा व्यक्तिले कोभिड संक्रमण गराउन सक्छ भन्ने हेक्का राख्न होला ।’

उनले एकअर्काबीचमा कम्तिमा तोकिएको भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य रुपमा प्रयोग गर्न, हातको सरसफाइमा ध्यान दिनुहुन समेत अनुरोध गरे ।

साथै गौतमले कोभिड संक्रमण भएको वा संक्रमणको शंका लागेको वा कोभिडको मिल्दोजुल्दो लक्षण भएको अवस्थामा सार्वजनिक यातायात प्रयोग नगरीदिनु हुन समेत सबैमा अनुरोध गरेका छन् ।