ओखलढुंगामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केही समय अगाडि साउदीबाट आएर ओखलढुंगाको क्वारेन्टाइनमा रहेका सुनकोशी गाउँपालिका-५ का २४ वर्षीय पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।
गत आइतबार जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका २१ जना ब्यक्तिको थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाइएकामध्ये एक जनामा मात्रै कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । अन्य २० जनाको भने परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
संक्रमण पुष्टि भएका उक्त पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लैजाने तयारी गरिएको तिवारीको भनाइ छ ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । जसमध्ये एकजना निको घर फर्किसकेका छन् ।