logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोक बाह्रबिसे बाढीपहिरो : आठ दिनसम्म पनि भेटिएनन् वेपत्ता २० जना


अंकुरण खबर
1.456K
Shares

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा आठ दिन अघि आएको बाढीपहिरोमा वेपत्ता भएका २० जना अझै भेटिएका छैनन्। उनीहरुलाइ भोटेकोशीले बगाएको आशंका गर्न थालिएको छ।

असार २४ गते राति आएको बाढी र पहिरोमा परि तीन जनाको मृत्यु भएको थियो भने २० जना वेपत्ता भएका थिए। उनीहरुको खोजी जारी रहेको भएपनि अहिलेसम्म भेटिएका छैनन्।

चार दिनदेखि एक्स्काभेटर लगाएर खोजी भइरहेको छ। तर, वेपत्ता भेटिने सम्भावना न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए। बाढी र पहिरोले सडकको सतहभन्दा धेरै माथिसम्म पुरिने गरी माटोसहित ठूला–ठूला ढुङ्गा थुपारेको हुँदा एक्स्काभेटरले समेत हटाउन कठिनाइ भएको जनाएको छ।

उद्धारकार्यका लागि काठमाडौंबाट बाह्रबिसे पुगेको २५ सदस्यीय टोली पनि मङ्गलबार फर्किसकेको छ।

बाह्रबिसे नगरपालिका–५ खागदल र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गरी दुई बेलिब्रिज राख्नलाई सामान काठमाडौँमा तयारी हालतमा रहे पनि सडक अवरुद्धका कारण ल्याउन सकिएको छैन। बाह्रबिसेको खोर्सानीबारीको सडक पूरै नदीले बगाएको भित्ता काट्न माथिको बस्तीलाई असर पर्ने तलबाट उठाउन नदीमा पानीको सतह कम नभएकाले सम्भव देखिँदैन।

त्यसका लागि मनसुन हटेर भोटेकोशीको पानीको सतह कम भएपछि मात्र सम्भव हुने भएकाले कम्तीमा दुई महिना समय लाग्ने डिभिजनल इञ्जीनियर विजयकुमार महतोले बताए।