logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धरहरा पुनःनिर्माणका लागि जिल्ला बाहिरीबाट ल्याइएका कामदार क्वारेन्टिनमा


अंकुरण खबर
1.924K
Shares

धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ।

सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए।

रोकिएको काम अघि बढाउन पुनःनिर्माण गर्न थप कामदार सप्तरीबाट केही दिनअघि ल्याइएको थियो। ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको र पिसिआर परीक्षणपछि मात्र काममा लगाइने जनाइएको छ।

कोरोना सङ्क्रमणको कारण पछिल्लो समय बाहिरी जिल्लाबाट ल्याइएका कामदारको कोरोना परीक्षणपछि मात्र काममा लगाउनका लागि क्वारेन्टिनमा राखिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए।

अहिले उनीहरुको परीक्षणको लागि नमूना सङ्कलन भइरहेको छ। परीक्षणपछि काममा लगाइने उनले बताए।

भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो। दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण शुरु गरेको छ।

निर्माणको लागि रु तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ। पहिलाको धरहरा भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ। जहाँ दुईवटा लिफ्ट हुनेछ। एउटा परम्परागत भ¥याङ रहनेछ।

लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ। अब बन्ने धरहरा अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ। कूल ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ।

नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन्।

शुरुमा ११ तले धरहरा विसं १९९० को भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो। सो ऐतिहासिक धरहरा सन् १८३२ मा भिमसेन थापाले निर्माण गरेका थिए।

गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ। उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेना गृह हुनेछ। धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ।

निर्माण हुने धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ। धरहराको १८औँ तलामा अवलोकलन कक्ष हुनेछ।