भारतबाट आएको सलहको झुन्ड बाँके प्रवेश गरेको छ। बाँकेको डुडुवा गाउँपालिका क्षेत्रमा सलह देखिएको हो।
प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकृत रामकृष्ण सुवेदीले वायु पूर्वबाट पश्चिमतर्फ बहिरहेकोले नेपालसंग सीमाना जोडिएको भारतका विभिन्न स्थानमा रहेका सलह नेपाल प्रवेश गरेको बताए।
एक हप्ताअघि दक्षिण पश्चिम वायुको चापका कारण दाङ र नवलपरासी क्षेत्रबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको थियो। आज बाँकेमा देखिएको झुण्ड कति ठूलो भन्ने एकिन नभएको सुवेदीले बताए।
१३ देखि १६ असारसम्म प्रवेश गरेका सलहमध्ये छरिएर सानो संख्यामा बाग्लुङ्ग, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट लगायतका जिल्लामा पुगेका सलह अझै त्यतै भएको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ। ती सानो संख्यामा भएकाले ठूलो क्षति पु¥याउन सकेका छैनन्।