logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक युवक हत्या : ७ जना पक्राउ


अंकुरण खबर
1.378K
Shares

सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिकामा एक युवकको हत्या भएको छ।

शम्भुनाथ नगरपालिका-३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको आरोपमा प्रहरीले बुधबार सात जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेकाको नाम सार्वजनिक गरेको छैन।

सोमबार रातिदेखि बेपत्ता भएका रामको हत्या गरिएको अवस्थामा शम्भुनाथ नगरपालिका-३ स्थित मुतनी नदीमा मङ्गलबार साँझ शव फेलापरेको थियो।

शवको टाउको र चिउँडोमा चोट देखिएको, कानबाट रगत बगेको, छाती र कुहिनाको छाला घिसारेर ताछिएको अवस्थामा शव नदीबाट निकालेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रुपनीमा उनको र रासलाल पालबीच जग्गाको मोहीसम्बन्धी विवादमा छलफल भएको थियो।

छलफलमा रामका हजुरबुवाकै पालादेखि मोही रहेको प्रमाण देखाएपछि रामको पक्षमा निर्णय भएको थियो। छलफल आफ्नो पक्षमा भएपछि खुशी हुँदै गाउँ फर्किएका राम आफ्ना चार साथीसँग सोमबार राति शम्भुनाथ नगरपालिका-३ नरहीमा पुगेर मासु, रक्सी खाएका थिए। सोही बेलादेखि राम बेपत्ता थिए।

उनको शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।