logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साउन ४ देखि ८ गतेसम्म भारी वर्षा हुने सम्भावना, सतर्कता अपनाउन आग्रह


अंकुरण खबर
780
Shares

आगामी साउन ४ गतेदेखि ८ गतेसम्म मुलुकका केही भागमा भारी वर्षा हुनसक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले अहिलेसम्मको पूर्वानुसार त्यस अवधिमा मुलुकका अधिकांश ठाउँमा पानी पर्ने जनाएको भन्दै प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

विभागले साउन ४ गतेदेखि ८ गतेसम्म मुलुकका धेरैजसो ठाउँमा हल्कादेखि सामान्य र कतिपय ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । यसले पहाडी क्षेत्रका केही स्थानमा पहिरो र तराईका कतिपय ठाउँमा बाढी तथा डुबानको सम्भावना भएको प्राधिकरणले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले मौसमी प्रणालीको विश्लेषण गर्दा प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुन सक्ने बताएको छ । त्यस्तै कर्णाली तथा सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने र धेरैजसो ठाउँमा हल्कादेखि मध्यमस्तरको वर्षा हुने पनि विभागले जनाएको छ ।

देशका एक दुई ठाउँमा अति भारी वर्षा हुने पूर्वानुमान गरिएको र पाँच दिनसम्म पर्ने यो पानीले देशभरमा साना–ठूला नदीहरुको जलसतह पनि उल्लेख्य रुपमा बढ्ने विभागले जनाएको छ ।