logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट लगातार पाँच दिन देशभर वर्षाको सम्भावना


अंकुरण खबर
1.274K
Shares

आजबाट लगातार पाँच दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसले पहाडी क्षेत्रका केही स्थानमा पहिरो र तराईका कतिपय ठाउँमा बाढी तथा डुबानको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्क रहन अनुरोध गरेको छ ।

पहाडी भू भागका स-साना नदी नालामा समेत आकस्मिक बहाव बढ्ने सम्भावना भएकाले जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ । बर्षाका कारण कन्काई, सप्तकोसी, कमला, वाग्मती, नारायणी, भेरी–बबई र पश्चिम राप्तीमा बाढी आउने भन्दै गृह मन्त्रालयले तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान भनेको हो ।

प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ का जिल्ला हुँदै बग्ने ठूला तथा सहायक नदीमा पानीको सतह बढ्ने र यसले बाढी र डुबानको जोखिम निम्त्याउने पूर्वानुमान छ । प्रदेश २ का ८ वटै जिल्ला डुबानको उच्च जोखिममा छन् ।

यस वर्ष मनसुन सुरु भएयता जेठ ३० देखि साउन २ गतेसम्म बाढीपहिरो र डुबानबाट १ सय ९ जनाको मृत्यु भएको छ । जसमध्ये पहिरोबाट १ सय ४ को मृत्यु र ४३ बेपत्ता तथा बाढी र डुबानबाट ५ को मृत्यु, ५ बेपत्ता भएका छन् । यो अवधिमा चट्याङबाट मात्रै १७ जनाले ज्यान गुमाएका छन् ।