नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा उनीसहित केही सचिवालय सदस्यहरुको बैठक चलिरहेको छ ।
आइतबार बिहान ९ बजेदेखि खुमलटारमा जारी बैठकमा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी छन् । त्यस लगायत स्थायी कमिटीमा रहेका ती नेता निकटका सदस्यहरु पनि उपस्थित रहेको एक नेताले जानकारी दिए ।
शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीप्रति प्रचण्ड नरम रुपमा प्रस्तुत भएका थिए। साथै, मंसिरमै महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका थिए । तर, नेपाल, खनाल र श्रेष्ठले भने शंका व्यक्त गरेका थिए ।
आजको लागि तोकिएको स्थायी कमिटी बैठक भने बस्ने सचिवालयको बैठकले निर्णय गरेको थियो। स्थायी कमिटी बैठक गत असार १० गतेदेखि जारी छ ।