आज साउन महिनाको पहिलो सोमबार । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन धेरै नै बिशेष मानिन्छ । सोमबारको दिन हिन्दु महिलाहरु भगवान शिवको व्रत बस्ने गर्छन् ।
हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना हो । हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा पनि सोमबारलाई महत्व राखिन्छ ।
साउने सोमबारका दिन निराहार ब्रत बसि शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यसदिन पशुपतिनाथ मन्दिर, भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर लगायतका देशभरका बिव मन्दिरमा भक्तजनहरुको भीड लाग्ने गर्छ । तर यसपाली भने कोरोनाभाइरसका कारण मन्दिरमा भीडभाड गर्नु राम्रो मानिदैन ।
साउने सोमबार शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु प्राप्त हुने र घर परिवारमा सुख शान्ति छाउने विश्वास रहिआएको छ ।
हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिईन्छ । साउने सोमबारको दिन मनोकामना पुरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने धार्मिक प्रचलन छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।
गत वर्ष साउने सोमबारका दिन देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको थियो । तर यसपटक कोरोना भाइरसको महामारीका कारण भने शिवालयहरुमा मानिसहरुको उपस्थिति न्यून हुनेछ ।
सरकारले २५ जना भन्दा बढि एक स्थानमा भेला नहुन भनेको छ भने मन्दिरहरु पनि प्राय बन्द अवस्थामा रहेका छन् । नियमित पूजा आजा भएको भएपनि मानिसहरु भेला हुने काम भने रोकिएको छ । यसको प्रभाव साउन महिनामा शिव मन्दिरहरुमा पनि पर्ने देखिएको छ ।