अविरल वर्षाका कारण खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिकाको विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
उक्त क्षेत्रमा रातिदेखि झरेको पहिरोले राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपले बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ । यस्तै पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२, चालिसे क्षेत्रमा सडकमाथिबाट खसेको पहिरोसहित ढुङ्गा खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।
पहिरो हटाएर राजमार्ग सञ्चालनको प्रयास गरिए पनि अविरल वर्षा र पहिरोसहित आएका ढुङ्गा भएकाले समस्या भएको छ । ढुङ्गा र पहिरो हटाउने र सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्गअन्तर्गत धादिङ को गजुरीमा सवारी साधनहरु रोकिएका छन्।