अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश १, २, बागमती, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यी ठाउँ भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबानको जोखिम भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
विभागको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा बाराको सिमरामा सबैभन्दा बढी १०८.२ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै पोखरामा १०७.४, जनकपुरमा १०४.३, ओखलढुंगामा ९१.७ र काठमाडौंमा ७८ मिलिमिटर वर्षा भएको छ।
महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव परेको र दक्षिणतिर सरेको मनसुनी न्यून चापीय रेखा नेपाल नजिक आएकोले नेपालको मौसममा असर परेको हो।