रुकुम पश्चिमको बाँफिकोटमा रहेको स्यार्पु तालमा डुबेर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
बाँफिकोट गाउँपालिका ३ र ५ नम्बर वडामा फैलिएको तालमा बुधबार दिउँसो डुबेर सोही गाउँपालिका ५ का २३ वर्षीय लोकबहादुर घर्तीको ज्यान गएको छ भने २० वर्षीय अनिल घर्ती बेपत्ता छन् ।
अर्का २० वर्षीय शशी पुन भने बाहिर निस्कन सफल भएका छन् । त्यस्तै १५ वर्षीय कमल विकलाई स्थानीय जेनिश पुरीले उद्धार गरेका थिए ।
उनीहरु चार जना बुधबार बिहान घरबाट बल्छी खेल्न भन्दै ५ नम्बर वडामा रहेको तालको सिरानमा पुगेका थिए । बल्छी खेल्न गएका उनीहरु पौडी खेल्ने क्रममा अनिल घर्तीले ‘बचाउ बचाउ’ भनेपछि लोकबहादुर घर्ती उनलाई बचाउनको लागि तालमा पौडिएको घटनास्थलमै रहेका ३ नम्बर वडाध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिए ।
स्यार्पु तालमा आउने खार खोलामा बढेको पानीले पौडने क्रममा चोट लाग्दा पानी खाएर उनीहरु तालमा बेपत्ता भएको बताइएको छ ।
बेपत्ता भएको केही समयमै लोकबहादुरको शव तालमै भेटिएको थियो भने डुङ्गामार्फत अनिलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी दिए ।