पत्नी हत्याको अभियोग प्रमाणित भएपछि आजीवन कारावासको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्व डिआईजी रन्जन कोइराला बिहीबार थुनामुक्त भएसँगै कोइरालाको मुद्दामा सरकारले पुनरावलोकनका लागि निवेदन दिने भएको छ ।
बिहीबार महान्यायाधिवक्ता कार्यालयले रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको हो । कोइराला छुटेपछि सरकारले कोरालाको मुद्दा पुनरावलोकन गर्ने तयारी गरिरहेको छ।
महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार बिहीबार मात्रै महान्यायाधिवक्ता कार्यालयले रञ्जन कोइराला थुनामुक्त प्रकरणमा पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको हो ।
‘छलफल भएर केही कुरा ड्राफसमेत गरेका छौं। कसरी जाने यसअघिका मुद्दा वा कुनै थप प्रमाण छन् वा छैनन् भन्ने विषयमा छलफल भएको हो,’ कार्यालयका एक न्यायधिवक्ताले भने ।
सर्वोच्व अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र तेजबहादुर कार्कीको संयुक्त इजलासले सजाय घटाएर ८ वर्ष ६ महिना तोकेको थियो। कोइरालाले २०६८ पुस २७ गते पत्नी गीता ढकालको बुढानिलकण्ठमा हत्या गरी शव मकवानपुरको जंगलमा लगेर जलाएका थिए।
पत्नी गीता ढकाललाई हत्या गरेको अभियोगमा २०६८ माघ ८ गते प्रहरीले कोइरालालाई पक्राउ गरेको थियो।
घटनाको प्रकृति, प्राप्त प्रमाणलगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते कोइरालाई सर्वश्वसहित जन्मकैद सुनाएको थियो। अदालतको फैसलामा चित्त नबुझेपछि उनी फेरि उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन) पुगे। २०७२ मंसिर २३ गते उच्च अदालतले जिल्लाकै फैसला सही भएको भन्दै सदर गर्यो।
त्यसपछि उनले अन्तिम सहारा सर्वोच्च अदालत बन्यो। सर्वोच्चले पनि उच्च र जिल्लाकै निर्णय सदर गरेको भए रञ्जनले २० वर्ष जेल सजाय भुक्तान गर्नुपर्थ्यो। तर अदालतले कोइरालाको साढे ११ वर्ष कैद मिनाहा गरिदियो।