logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कोरोना रोकथामका लागि विशेष रणनीति बनाउन प्रधानमन्त्रीलाई देउवाको सुझाव


अंकुरण खबर
780
Shares

प्रधानमन्त्री केपी शर्मा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

विहीबार भएको भेटवार्तामा कांग्रेसका सभापति देउवाले लकडाउनपछिका चुनौतीलाई सामना गर्न विशेष रणनीति बनाउनुपर्ने प्रधानमन्त्री ओलीलाई सुझाब दिएका छन् ।

भेटमा देउवाले लकडाउन खुले पनि क्वारेन्टाइन मापदण्डयुक्त नभएको र पिसिआर टेस्ट पर्याप्त मात्रामा नभएको भन्दै जिम्मेवार बन्न ध्यानाकर्षण गराएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

मुख्यसचिव पौडेलले विज्ञप्ति जारी गरी भेटमा लकडाउनपछि उत्पन्न भएको नयाँ परिस्थिति सामना गर्नका लागि सरकारले नयाँ रणनीति ल्याउनुपर्ने सुझाब दिएको जनाएका हुन् ।

देउवाले कोरोनाबाट सिर्जित चुनौतीहरूका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरूले अघि सारेका जायज मागहरूलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन पनि सभापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कैयौँको मृत्यु, कैयौँ बेपत्ता र सयौँ घरबारविहीन भएको हुँदा सरकारलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा काम गर्न पनि देउवाले ध्यानाकर्षण गराएका छन् ।