logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोकिएका त्रिविका सबै परीक्षा भदौ पहिलो साताबाट हुने


अंकुरण खबर
1.521K
Shares

लकडाउन खुलेसँगै देशभरका विश्वविद्यालयहरू परीक्षा सञ्चालनको तयारीमा जुटेका छन्। गत ६ चैतबाट देशभरका शैक्षिक संस्थाहरू बन्द थिए।

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले १ भदौबाट शैक्षिक संस्था खोल्ने निर्णय गरेसँगै विश्वविद्यालयहरू परीक्षाको तयारीमा जुटेका हुन्। त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण स्थगित भएका परीक्षा तालिका सार्वजनिक गर्न थालेको छ। विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा तालिका सार्वजनिक गरेको छ।

संस्थानको ६ चैतबाट रोकिएको स्नातकोत्तर तहको परीक्षा यहि ७ भदौबाट हुने जनाएको छ । त्यस्तै स्नातक तहको परीक्षा पनि १५ भदौबाट सञ्चालन गर्नेगरी सूचना प्रकाशित गरेको छ।

संस्थानका डीनको कार्यालयका निमित्त डीन प्रा.डा. सुशिलबहादुर बज्राचार्यले परीक्षा सम्बन्धित सम्पूर्ण जानकारी तथा परीक्षा तालिका १५ साउनभित्र प्रकाशित गरिने बताए।

६ गतेबाट लकडाउन अन्त्यको घोषणा गरेसँगै त्रिविले ७ साउनबाट सम्पूर्ण क्याम्पस खोल्न निर्देशन दिएको थियो। सोही बमोजिम त्रिवि अन्तर्गत देशभरका क्याम्पसहरू सञ्चालनमा आएका छन्।

स्थगित भएका परीक्षा दशैं अगाडि नै गर्नेगरी तयारी भइरहेको त्रिवि रजिष्ट्रार प्रा.डा पेशल दाहालले जानकारी दिए। विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूलाई त्यही अनुसार तयारी थाल्न निर्देशन दिइएको छ।

त्यस्तै देशभरका अन्य विश्वविद्यालयहरूले समेत परीक्षाको तयारी थालेका छन्। काठमाडौं विश्वविद्यालयले पनि एक सूचना जारी गर्दै स्थगित परीक्षा चाँडै हुने भन्दै तयारीमा बस्न विद्यार्थी तथा क्याम्पसहरू सूचीत गराएको छ।

गत ६ चैतबाट स्नातक तथा स्नातकोत्तर तहका परीक्षा रोकिएका थिए।