जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ ।
बागलुङ नगरपालिका-१ रामरेखा र मालढुङ्गाबाट लागुऔषध सहित सुरज पौडेल, रुपेश श्रीपाली, तुफान विश्वकर्मा र प्रदिप बोहोरालाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवाको साथबाट डाइजापाम, फेनागन र नुर्फिन २४ थान बरामद गरिएको छ । उनीहरु लागुपदार्थ दुर्व्यसन र कारोवारमा समेत सक्रिय रहेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।