काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ ।
विहीबार साँझ बाफलमा ओखलढुंगा घर भएकी २२ बर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कोठाबाट दही किन्न बाहिर निस्किएको अवस्थामा उनको अनुहारमा एकजना युवकले एसिड प्रहार गरेका हुन्।
यस्तै प्रहरीले युवतीलाई एसिड प्रहार गर्ने दुई जनालाई बिहीबार राति नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् ।
मुन्ना मोहम्मदले आफ्ना साहु (मालिक) को निर्देशनमा युवतीमाथि एसिड हानेको बयान दिएका छन् । उनकै बयानको आधारमा मोहम्मद आलमलाई पनि काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मुन्नाका साहु आलमले आफूसँग प्रेम नगरेका कारण २२ वर्षीया कार्कीमाथि एसिड आक्रमण गराएको बयान दिएका छन् । तर, पीडित युवतीले भने आलमलाई आफ्नो अभिभावक जस्तै मान्ने गरेको प्रहरीसँग बताएकी छन् ।