केही दिन सामान्य रहेको नेपालको मनसुन भोलिबाट फेरि सक्रिय हुने भएको छ ।
मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भोलि रातिबाट मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने विभागको पूर्वानुमान छ ।
विभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा भोलिदेखि ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै लगातार वर्षा हुने अनुमान गरिएको छ ।
मनसुन सक्रिय हुँदा नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने छ । ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानको जोखिम रहनसक्ने भएकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
आज आइतबार देशैभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आजै राती प्रदेश १ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।