राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत युवाहरुको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।
‘इनफ इज इनफ’का अभियानकर्ता नौं दिनदेखि अनशनमा बसिरहेका छन् ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारको प्रभावकारीताको माग गर्दै युवाहरु अनशनमा बसेका हुन् । आयोगले अनशनस्थल वसन्तपुर पुगेर युवाहरुको माग तथा स्वास्थ्य अवस्थाको अनुगमन गरेको थियो ।
असार २२ मा सरकारसँग गरेको सहमति कार्यन्वयन नभएपछि युवाहरुले पुनः अनसन सुरु गरेका थिए । यस सम्बन्धमा आयोगले पुनः अनुगमन गरेको छ । अनशनरत समिरा श्रेष्ठको स्वास्थ्यमा असर देखिन थालेको आयोगले जनाएको छ ।
अनशनरत युवाको स्वास्थ्यसम्बन्धी न्यायोचित मागहरु सम्बोधन गर्न आयोगले सरकारसँग आग्रह गरेको छ । आयोगले स्वास्थ्यमा पर्न सक्ने असरप्रति संवेदनशील भई सार्थक संवाद गर्न समेत सरकारलाई सुझाइएको छ ।