नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले (भोलि) मंगलबार बस्ने पार्टी स्थायी कमिटी बैठक नरोक्ने निष्कर्ष निकालेको छ ।
बैठकको पूर्वसन्ध्यामा छलफल गर्न सोमबार बिहान खुमलटारमा भेला भएका सचिवालय सदस्य र केही स्थायी कमिटीका सदस्यहरुबीचको छलफलले स्थायी कमिटी नरोकेर अघि बढ्ने निष्कर्ष निकालेको हो ।
दाहाल–नेपाल समूहले यसअघि पटकपटक स्थायी कमिटी नरोक्ने निष्कर्ष निकाले पनि अन्तिम समयमा आएर दुई अध्यक्षबीचको सहमतिमा भन्दै बैठक स्थगित हुँदै आएको छ ।
छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र केही स्थायी कमिटीका सदस्य उपस्थित भएको खुमलटार स्रोतले जानकारी दिएको छ ।
गएको १० असारबाट शुरू भएको नेकपाको स्थायी कमिटी बैठक पटक पटक अवरुद्ध हुँदै आएको छ । बैठक मंगलबार बिहान ११ बजेका लागि तय भएको छ ।
दाहाल–नेपाल समूहले अर्का प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चर्किएको हो । ओलीले भने कुनै पनि हालतमा आफूले दुवै पदबाट राजीनामा नदिने प्रस्ट पारिसकेका छन् ।