नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको जानकारी दिए ।
कोरोनाको संक्रमणबाट पर्साको वीरगञ्ज महानगरपालिका–१० का ६५ भारतीय नागरिक, धनुषा सहिदनगर नगरपालिका–८ डुमरियाका ३६ वर्षीय पुरुष र बाराको फेटा गाउँपालिका-३ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताए ।
उनका अनुसार वीरगञ्जका ६५ वर्षीय भारतीय नागरिकको वीरगञ्जस्थित गण्डक अस्थायी कोभिड अस्पताल र धनुषाका ३६ वर्षीय पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा साउन ११ गते मृत्यु भएको त्यस्तै बाराको फेटा गाउँपालिका-३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।