पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका–९, स्यालामा पहिरोले एक घर बगाउँदा २ जनाको मृत्यु भएको छ ।
रातभर परेको अविरल वर्षापछि आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाएको हो ।
पहिरोले घर बगाउँदा जसबीरका २२ वर्षीय छोरा नवीन विक र छिमेकी हस्तबहादुर सुनारका १६ वर्षीय छोरा बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परेका अन्य ४ जनाको स्थानीयले उद्दार गरेका छन् ।
जसवीरकी श्रीमती ६० वर्षीया झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी ५ वर्षीया कोपिला र ३ वर्षीया रितु कामीको उद्धार गरिएको हो । घाइते झुपीको छिन्खेतस्थित स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।
घरदेखि १० मिटरमाथिबाट आएको पहिराले घर झण्डै डेढ सय मिटर तल रहेको किमाना खोलामा पुर्याएको प्रहरीले जनाएको छ ।