सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक अनिश्चित कालका लागि स्थगित भएपनि बैठकमा सहभागी हुन नेताहरु बालुवाटार पुगेका छन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठसहित जनार्दन शर्मा र लिलामणी पोखरेल बालुवाटारस्थित बैठक कक्षमा पुगेका हुन् । त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटार लागि खुमलटारबाट प्रस्थान गरिसकेका छन् ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरु बालुवाटार बैठक कक्षमा आइपुगेको जानकारी दिए । ‘हामी बालुवाटारको बैठक कक्षमा आइपुगेका छौं’ प्रवक्ता श्रेष्ठले भने,‘दुई अध्यक्षको सहमतिमा मात्र बैठक स्थगित हुन्छ, एक अध्यक्षले भन्दैमा हुँदैन ।’
आज विहान ११ बजेका लागि बोलाइएको बैठक सुरु हुनुभन्दा केही अघिमात्र प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले आजका लागि तय भएको बैठक स्थगित भएको जानकारी दिएका थिए ।
बैठकमा सहभागी हुन भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार तर्फ जाँदै गर्दा प्रचण्डसँग सल्लाह नगरी बैठक स्थगन भएको सूचना पाएका स्रोतको भनाइ छ । उनलाई अध्यक्ष ओलीले फोन गरेर बैठक स्थगन गर्नुपर्ने बताएका स्रोतको दाबी छ ।
यसअघि हिजो प्रचण्डको निवासमा नेता माधव कुमार नेपालसहितका सचिबालय सदस्यले ओलीले बैठक स्थगन गर्न खोजेपनि प्रचण्डले बैठक बोलाउने निर्णय गरेको थियो ।