धनुषाको क्षिरेश्वनाथ नगरपालिकाको वडा नम्बर ३ कि दलित समुदायकी १८ बर्षीया युवती बलात्कृत भएकी छन् ।
सोमबार राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्केकी युवतीलाई स्थानीय ३० बर्षीय राइनले घरबाटै जबर्जस्ती लगी बलात्कार गरेको पीडित परिवारको भनाइ छ ।
पिसाब फेर्न निस्केकी युवती घर नफर्केपछि उनको खोजतलास भएको थियो । तर राइनले ती युवतीलाई बिहान ३ बजेतिर घर छोड्न आएपछि घटना बाहिरिएको हो ।
युवतीले आफूलाई लगेर बलात्कार गरेको बताएपछि बालिकाका आफन्त र गाउँलेले तत्कालै युवकलाई नियन्त्रणमा लिई कुटपिट गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन् । कुटपिटबाट युवक घाइते भएका छन् ।
स्थानीयले जिम्मा लगाएपछि युवती र युवक दुबैको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।