सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) स्थायी समितिको बहुमतले एक पक्षीय रुपमा बैठक स्थगित गर्ने प्रधानमन्त्री केपी ओलीको कदम अनुचित भएको निस्कर्ष निकालेको छ ।
ओलीले मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श नगरी नेताहरु बैठकका लागि बालुवाटार पुग्नै लाग्दा एक पक्षीय रुपमा बैठक स्थगन गरेका थिए ।
ओलीले बैठक स्थगित गरेपछि बसेको स्थायी समिति बैठकले बैठक छल्न खोज्ने ओली प्रवृत्ति अनुचित रहेको निस्कर्ष निकालेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीले विधिविपरित बैठक स्थगन गरेको सूचना प्रसारित गर्नु उचित नभएको निस्कर्ष बहुमतको रहेको जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले पार्टी एकता, विधि र परम्परालाई ध्यानमा राखेर ओलीसँग संवाद गरी बैठक सुचारु गर्ने जिम्मेवारी कार्यकारी अध्यक्ष प्रचण्डलाई दिइएको बताए । ओली विना नै स्थायी समितिको बैठक सुचारु गरेपनि नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको छ ।
बैठकमा ४४ सदस्यीय स्थायी समितिमध्ये प्रचण्ड–माधव नेपाल पक्षका ३१ जनाको उपस्थिति थियो ।